सहकारीको तथ्यांक सफ्टवेयरमा ‘इन्ट्री’ गर्दा रातो बत्ती बल्यो भने मान्नुस् अब तपाईंको संस्था आर्थिक संकटमा फस्दै छ

       
   
 तपाईंले सञ्चालन गरेको सहकारी संस्थाको तथ्यांक सफ्टवेयरमा ‘इन्ट्री’ गर्दा रातो बत्ती बल्यो भने मान्नुस् अब तपाईंको संस्था आर्थिक संकटमा फस्दै छ । अब बिग्रिएका सूचक सच्याउन लाग्नुभएन वा सुधारको थालनी गर्नुभएन भने संस्थाको भविष्यमाथि नै प्रश्नचिह्न लाग्न पनि सक्छ ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी संस्थाको अवस्थाका बारेमा पनि जानकारी दिने गरी नयाँ सफ्टवेयर तयार पारेको छ । सो सफ्टवेयरले सहकारी संस्थाको अवस्थाबारे पनि जानकारी दिने मन्त्रालयका उपसचिव बाबुराम भुसालले जानकारी दिए ।
मन्त्रालयले सहकारी तथा गरिबीसँग सम्बन्धित व्यवस्थापन सूचना प्रणाली तयार गरेको छ । सो प्रणालीमा राज्यले पहिचान गरेका गरिब घरपरिवार तथा सहकारी संस्थाहरूको यकिन विवरण अनलाइनमार्फत तयार पार्न सक्ने व्यवस्था गरिएको छ । नयाँ सफ्टवेयर कार्यान्वयनमा आएपछि योजना तर्जुमा, कार्यान्वयन, अनुमगन र मूल्यांकन सहज हुने मन्त्रालयका उपसचिव भुसालको भनाइ छ । सहकारी संघ÷संस्थाहरूको संस्थागत विवरण अनलाइनमार्फत तत्काल उपलब्ध हुने गरी सफ्टवेयर डिजाइन गरिएको छ ।
सफ्टवेयर कार्यान्वयनमा आएपछि सहकारी क्षेत्रको वित्तीय जोखिम कम गर्न तथा यस क्षेत्रको स्थायित्व कायम गराउन सहज हुने उनको भनाइ छ । यस्तै, राज्यबाट पहिचान भएका गरिब घरपरिवारको सूचना व्यवस्थापनको काम र त्यस्ता परिवारलाई राज्यका तर्फबाट उपलब्ध गराइने सामाजिक सुरक्षाका कार्यहरू एकीकृत गर्ने गरी लक्षित वर्गमा पु¥याउन पनि सहयोग पुग्ने मन्त्रालयको भनाइ छ ।
सफ्टवेयर तयार भएर कार्यान्वयनमा आएपछि सहकारी संघ÷संस्थाको दर्तादेखि अनुगमनका कार्यहरू स्वचालित हुनेछन् । सफ्टवेयरले सहकारी संघ÷संस्थाहरूको वित्तीय विश्लेषण स्वचालित रूपमा नै गर्नेछ । जसका कारण सहकारी संघ÷संस्थाहरूले आफ्नो संस्थाको वित्तीय अवस्था कस्तो छ भनेर आफैँले पनि विश्लेषण गर्न सक्ने अवस्था सिर्जना हुने मन्त्रालयका अधिकारीको भनाइ छ । सफ्टवेयरमा इन्ट्री गरेको तथ्यांक प्रिन्ट पनि गर्न मिल्नेछ । यसरी प्रिन्ट गर्दा संस्थाको छुट्टै व्यालेन्स सिट तयार पार्नुपर्ने झन्झट पनि हट्ने अधिकारीहरूको भनाइ छ ।
सो सफ्टवेयर निर्माण गर्नका लागि १ करोड ६० लाख रुपैयाँ खर्च लागेको छ । सोही खर्चमा परामर्शदाताले ३ वर्षसम्म निःशुल्क मर्मतसम्भार गरिदिने र सरकारी कर्मचारीलाई तालिम पनि उपलब्ध गराउने गरी सम्झौता भएको मन्त्रालयले जानकारी दिएको छ ।
संस्थाको अवस्था बत्तीले संकेत दिने
मन्त्रालयले तयार पारेको सफ्टवेयरमा सहकारी संघ÷संस्थाहरूले आफ्नो विवरण भर्नुपर्नेछ । यसरी विवरण भर्दा संस्थाको अवस्था तथा परिसूचक राम्रो भए हरियो बत्ती बल्ने उपसचिव भुसालले जानकारी दिए । यस्तै, केही परिसूचक खराब भएमा वा सुधार गर्नुपर्ने विषय निकै टड्कारो देखिएमा पहेँलो बत्तीले संकेत दिने मन्त्रालयका अधिकारीको भनाइ छ । यस्तै, संस्थाको अवस्था निकै खराब भएमा रातो बत्तीले संकेत दिने गरी सफ्टवेयर तयार पारिएको छ ।
यसरी काम गर्नेछ सफ्टवेयरले
सफ्टवेयर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । सफ्टवेयर सफ्टेक फाउन्डेसनले तयार पारेको हो । उसले बनाएको सफ्टवेयरको पाइलट टेस्टको काम पूरा भएको छ । अब तीन चरणमा कर्मचारी तालिम गर्ने र त्यसपछि पूर्ण कार्यान्वयनमा लैजाने तयारी भएको मन्त्रालयको भनाइ छ ।
सफ्टवेयर तयार भएपछि सबै सहकारी संस्थाहरूलाई युजर नेम र पासवर्ड दिइन्छ । त्यस्तो युजर नेम र पासवर्ड प्रयोग गरेर सहकारीका पदाधिकारी वा कर्मचारीले आफ्नो संस्थाको तथ्यांक पोस्ट गर्न सक्नेछन् । यस्ता तथ्यांक पोस्ट हुनेबित्तिकै संस्थामा कुनै प्रकारको जोखिम देखिए सफ्टवेयरको कुनै कुनामा एक प्रकारको बत्ती बल्नेछ । त्यसमा हरियो बत्ती बलेमा संस्थाको अवस्था राम्रो रहेको भन्ने जानकारी प्राप्त हुनेछ भने पहेँलो बत्ती बलेमा सुधार गर्नुपर्ने अवस्था देखिएको तथा रातो बत्ती बलेमा अव अवस्था निकै कमजोर भयो तत्काल सुधार थाल्नुपर्छ भन्ने संकेत मिल्नेछ । सो सफ्टवेयर असोजभित्रै कार्यान्वयनमा लैजाने तयारी मन्त्रालयले गरेको आजको राजधानी दैनिकमा खबर छ ।

No comments

Theme images by nicodemos. Powered by Blogger.